आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा हुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएकी टासी ल्हाजोमले आफुलाई ‘कांग्रेस उम्मेदवार’ भनेको भन्दै सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यममा भिडियो क्लिप सहित प्रकाशित समाचारको वास्तविकता पत्ता लगाउन यो तथ्य जाँच गरिएको छ।

भ्रामक दावी
१३ फागुन, २०८२ मा Janata Media ले ६९ हजार (69k) फ्लोअर्स भएको आफ्नो फेसबुक पेज र janatamedia नामको ३५ हजार ६ सय (35.6k) फ्लोअर्स भएको टिकटक अकाउन्ट बाट टासी ल्हाजोमको भिडियो क्लिप सहितको एउटा भिडियो राख्दै त्यसमा “हुम्ला पुगेर टासीले भनिन्, म कांग्रेसको उम्मेदवार” भन्दै भिडियोको हाइलाइट राखेर राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुम्लाको उम्मेदवार टासी ल्हाजोमले सामाजिक सञ्जाल फेसबुक र टिकटकमा एक भिडियो मार्फत आफु कांग्रेसको उम्मेदवार भएको बताएकी छन् भनिएको छ।
उक्त भिडियोमा टासीको भिडियो क्लिप समेत काटेर राखिएको छ, उक्त क्लिपमा टासीले, “नमस्कार भन्दै उनले आफ्नो परिचय सहित म हाल कांग्रेसको उम्मेदवार हुम्लाबाट” भन्दा भन्दै एक वृद्ध महिला उनलाई खादा सहित स्वागत गर्न थालेपछि उनले सुरुमा आमाको स्वागत ग्रहण गर्न लागेको देखिन्छ। त्यसमा टासीले उनै वृद्ध महिलासँग स्थानिय भाषामा हसिमजाक शैलीमा छोटो कुरा गरेकी छन्। Janata Media ले राखेको उक्त भिडियोमा टासी एकदमै थकित र विक्षिप्त देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारलाई आफू कुन पार्टीको भएको भन्ने समेत थाहा नहुनुले ठूलो प्रश्न सृजना गरेको छ भनिएको छ।
हामीले यो तथ्य जाँच गर्ने बेलासम्म उक्त भिडियोमा फेसबुक पेजमा ६० हजार ५ सय (60.5k) भ्युज, १ हजार (1k) लाइक, १११ शेयर र १७२ कमेन्ट आइसकेको छ भने टिकटक अकाउन्टमा १६ हजार ३ सय (16.3k) भ्युज, ७०२ लाइक, १०५ शेयर र १६ कमेन्टहरु आइसकेको छ।
Janata Media को फेसबुक पेज र टिकटक अकाउन्टमा राखिएको भिडियो:
https://electionwatch.hriti.org/wp-content/uploads/2026/02/VID-20260226-WA0011.mp4
Janata Media को फेसबुक पेजमा राखिएको भिडियोको लिंक:
https://www.facebook.com/share/v/1EAEamTw7J/
Janatamedia काे टिकटक अकाउन्टमा राखिएको भिडियोको लिंक:
https://vt.tiktok.com/ZSmgG3rx9/
त्यस्तै १३ फागुन,२०८२ मा Crouch Jumper नामको ४३ हजार (43k) फ्लोअर्स भएको फेसबुक पेजमा टासी ल्हाजोमकाे “नमस्कार भन्दै उनले आफ्नो परिचय सहित म हाल कांग्रेसको उम्मेदवार हुम्लाबाट” भन्दै गर्दाको भिडियो क्लिप राख्दै उक्त भिडियोमा “रास्वपाको उम्मेदवारले कांग्रेसका लागि भोट माग्दै” लेखेर ‘Nepal Idol season -4’ लेखिएको क्याप्सन सहित ट्रोल गर्ने शैलीमा पोस्ट गरिएको छ। उक्त पोस्टमा हामीले यो तथ्य जाँच गर्ने बेलासम्म १ लाख ७५ हजार (175k) भ्यूज, २ हजार २ सय (2.2k) लाइक, २४७ शेयर, १४४ कमेन्ट आइसकेको छ।
Crouch Jumper नामको फेसबुक पेजमा राखिएको भिडियो:
https://electionwatch.hriti.org/wp-content/uploads/2026/02/VID-20260226-WA0009.mp4
Crouch Jumper नामको फेसबुक पेजमा राखिएको भिडियोको लिंक:
https://www.facebook.com/share/r/18Gj8iT5c6/
त्यस्तै, Ramesh Bhatta नामको ३२ हजार (32k) फ्लोअर्स भएको फेसबुक पेजमा टासीले आफू कांग्रेसको उम्मेदवार भएको बताएको भनेर Janata Media ले बनाएको भिडियोको माथि “टासी भनिन्: म कांग्रेस उम्मेदवार” लेखेर “नमूना नमुना छन् घण्टी का उम्मेदवार” लेखिएको क्याप्सन सहित पोष्ट गरिएको छ। उक्त पोस्टमा हामीले यो तथ्य जाँच गर्दासम्म ६३ हजार ३ सय (63.3 K) भ्युज, १ हजार ८ सय लाइक, ३३८ शेयर र १७६ कमेन्टहरु आइसकेको छ।
Ramesh Bhatta नामको फेसबुक पेजमा राखिएको भिडियो:
https://electionwatch.hriti.org/wp-content/uploads/2026/02/VID-20260226-WA0008.mp4
Ramesh Bhatta नामको फेसबुक पेजमा राखिएको भिडियोको लिंक:
https://www.facebook.com/share/r/1AtWXRGH8j/
वास्तविक सत्य
Janata Media ले आफ्नो फेसबुक पेज र टिकटक अकाउन्टमा राखेको भिडियाे, Crouch Jumper नामको फेसबुक पेजमा राखिएको भिडियो र Ramesh Bhatta नामको फेसबुक पेजबाट पोस्ट गरिएको भिडियोमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आगामी फागुन २१ मा हुने निर्वाचनमा प्रतिनिधि सभाको सदस्यको लागि हुम्लाबाट उम्मेदवारी दिएकी टासी ल्हाजोमले चुनाव प्रचारका क्रममा हुम्ला बाटै नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका जयपती रोकायाको घरमा भोट माग्न गएको प्रसङ्गको एउटा भिडियोलाई भ्रामक प्रचार गर्ने तरिकाले भिडियोको क्लिप काटेर भाइरल गराइएको पाइएको छ। टासीको Tashi Lhazom Official नामको १८ हजार (18k) फ्लोअर्स भएको आफ्नो फेसबुक पेजबाट ११ फागुन, २०८१ मा पोस्ट गरिएको वास्तविक भिडियोमा टासी ल्हाजोम हुम्लाका नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार जयपति रोकायाको घरमा पुगेकी थिइन् ।
उनले “म हाल कांग्रेसको उम्मेदवारको घरमा आएकी छु” भन्न खोज्दा रोकायाकी आमाले खादा लगाइदिएर स्वागत गरेपछि उनको वाक्य बीचमै रोकिएको देखिन्छ । भिडिओमा उनले रास्वपाको चुनाव चिह्न घन्टी अंकित टोपी स्पष्ट रूपमा लगाएकी छिन्। साथै उनको साइडमा उनको चुनाव प्रचार टिमका अन्य व्यक्तिहरूले समेत राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्ह अंकित झण्डा बोकेको देख्न सकिन्छ। उक्त भिडियोमा हामीले यो तथ्य जाँच गर्ने बेलासम्म ६६ हजार (66k) भ्युज, ७ हजार ९ सय (7.9k) लाईक, २०० कमेन्ट र ५५ शेयर भइसकेको छ।
टासीले आफ्नो फेसबुक पेजमा राखिएको वास्तविक भिडियो:
https://electionwatch.hriti.org/wp-content/uploads/2026/02/VID-20260226-WA0037.mp4
टासीले आफ्नो फेसबुक पेजमा राखिएको वास्तविक भिडियोको लिंक:
https://www.facebook.com/share/r/18ErX1vJD1/
बुधबार विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालका फेसबुक र टिकटक आईडीहरूमा “हुम्ला पुगेर टासी ल्हाजोमले भनिन् म काँग्रेसको उम्मेदवार” भन्ने शीर्षकमा समाचार शैलीको भिडिओ सार्वजनिक भएपछि टासी ल्हाजोमले आफूलाई ‘कांग्रेस उम्मेदवार’ भनेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको भिडिओको खण्डन गरेकी छिन् । केही सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियोको सानो अंशलाई तोडमोड गरी उनी पार्टीप्रति नै अन्योलमा रहेको भन्दै भ्रम फैलाएपछि उनले त्यसको प्रतिवाद गरेकी हुन्।
आफ्नो भनाइलाई गलत अर्थ लाग्ने गरी प्रचार गरिएकोमा आक्रोश सहित Janata Media ले राखेको भिडियोको स्क्रिनसर्ट राख्दै ल्हाजोमले सामाजिक सञ्जालमा लेखेकी छिन्, “म चट्टान हुँ, नकरात्मक प्रचारले मलाई होइन, मेरो साहसलाई अझ बलियो बनाउँछ । आलोचनाको आगोमा तापिएर निस्किएको छु, अब जित रोक्ने कसैको शक्ति छैन । कसैको विषयमा बोल्नुभन्दा अगाडि गहिराइमा पुग्न जरुरी छ । यस्ता नकरात्मक टिप्पणीले मलाई केही हुँदैन, यो त हजुरहरूको काम हो- कसरी कसलाई खसाल्ने र होच्याउने भन्ने कुरा !”
टासीले आफ्नो फेसबुक पेजबाट गरेको स्पष्टीकरण सहितको पोस्टको स्क्रिनसर्ट:

टासीले आफ्नो फेसबुक पेजबाट गरेको स्पष्टीकरण सहितको पोस्टको लिंक:
https://www.facebook.com/share/p/1AigFe4ea7/
टासीको यो स्पष्टीकरण सहितको फेसबुक पोस्ट र उनको आफ्नै फेसबुक पेजमा ११ फागुनमा राखिएको १ मिनेट ९ सेकेन्डको वास्तविक भिडियाेले Janata Media लगाएत अन्य सामाजिक सञ्जालमा टासीले आफू कांग्रेसको उम्मेदवार भएको बताएको भनिएको दाबी भ्रामक रहेको पुष्टि हुन्छ।
