गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै २ तिहाईको नजिक सीट संख्या जित्दा झापा- ५ बाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई अत्याधिक मतान्तरले चुनाव जितेका बालेन्द्र साह प्रधानमन्त्री बन्ने निश्चित भएपछि केही अनलाइन मीडिया र सामाजिक सञ्जालमा ‘बालेन साह विश्वकै कान्छो प्रधानमन्त्री बन्दै’ भन्ने खालका शीर्षक सहित आएका समाचारको वास्तविकता पत्ता लगाउन हामीले यो तथ्य जाँच गरेका छौ।

भ्रामक दावी
गत भाद्र २३ र २४ को युवापुस्ताले गरेको आन्दोलनबाट अघिल्नो सरकार र प्रतिनिधि सभा विघठन भई शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ को लागि प्रतिनिधि सभाको निर्वाचन तोकेको थियो। तोकिएको मितिमा नै निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि उक्त निर्वाचनमा बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई सीट संख्या जित्ने भएपछि बालेन्द्र साह प्रधानमन्त्री बन्ने करिब निश्चित भएपछि उनलाई ‘विश्वकै कान्छो (Youngest) प्रधानमन्त्री बन्दै’ भन्ने दाबी सहितको विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा समाचार तथा पोस्ट हरु आइरहेका छन्। यसैबिच कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा नाम भएकी रीमा विश्वकर्माले ‘Rima Bishwokarma’ फेसबुक पेजमा “विश्व कै कान्छो प्रधानमन्त्री…🔔” लेखेर २३ फागुनमा बेलुका ०७:०६ बजे पोस्ट गरेकी थिइन्। जसमा हामीले यो तथ्य जाँच गर्नेबेला सम्म ३९ हजार ३ सय (39.3k) लाइक, २ हजार ४ सय (2.4k) कमेन्ट र ७३ शेयर भइसकेको छ।
रीमा विश्वकर्माले फेसबुकमा गरेको पोस्टको स्क्रीनसर्ट:

रीमा विश्वकर्माले फेसबुकमा गरेको पोस्टको लिंक:
https://www.facebook.com/share/p/1BK7idxhwL
त्यस्तै, ‘Laligurash Media Network’ नामको मिडियाको फ्लोअर्स भएकाे फेसबुक पेजमा “बालेन शाह ले रचे इतिहास विश्वकै कान्छो प्रधानमन्त्री” लेखिएको भिडियो र क्याप्सन सहित राखिएको समाचार शैलीमा भिडियो सामग्रीमा पनि बालेन साहलाई विश्वकै कान्छो प्रधानमन्त्री भन्दै इतिहास रचेको भनिएको छ। हामीले यो तथ्य जाँच गर्ने बेलासम्म उक्त पोस्टमा ३ हजार ८ सय (3.8K) लाइक, ५८ कमेन्ट र ७९ शेयर भइसकेको छ।
Laligurash Media Network को फेसबुक पेजमा राखिएको भिडियोको स्क्रीनसर्ट:

Laligurash Media Network को फेसबुक पेजमा राखिएको भिडियोको लिंक:
https://www.facebook.com/share/v/1CitQuck3z
त्यस्तै: Smart Media नामको ९ लाख ५८ हजार (958k) फ्लोअर्स भएको फेसबुक पेजमा “विश्वको कान्छो प्रधानमन्त्री बन्दै बालेन शाह” लेखेर क्याप्सन सहित राखिएको भिडियोमा गायक विष्णु सापकोटाले पनि बालेन विश्वकै कान्छो प्रधानमन्त्री बन्ने भन्ने आशयको अभिव्यक्ति दिएको पाइएको छ। हामीले यो तथ्य जाँच गर्ने बेलासम्म उक्त भिडियोमा १ लाख १६ हजार (116k) लाइक, ९४४ कमेन्ट, ६०८ शेयर र ११ लाख (1.1 Million) भ्युज आइसकेको छ।
Smart Media नामको फेसबुक पेजमा राखिएको भिडियोको स्क्रीनसर्ट:

Smart Media नामको फेसबुक पेजमा राखिएको भिडियोको लिंक:
https://www.facebook.com/share/r/1bVwAn5dAD
यी बाहेक पनि अन्य केही सञ्चार माध्यम तथा सामाजिक सन्जालहरुमा विभिन्न व्यक्तिहरूले बालेन शाहलाई विश्वकै कान्छो प्रधानमन्त्री बन्दै छन् भन्ने खालका भ्रामक पोस्टहरु गरेको सामाजिक सञ्जालमा देख्न सकिन्छ।
वास्तविक सत्य
बालेन्द्र साह विश्वकै कान्छो (youngest) प्रधानमन्त्री बन्दै भनेर Rima Biswakarma, Laligurash Media Network, Smart Media लगाएत अन्य केही सञ्चार माध्यम र विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा राखिएका समाचार र पोस्टहरु प्रकाशित भएतापनि उनि प्रधानमन्त्री बनेमा विश्वकै कान्छा प्रधानमन्त्री भने हुने छैनन्। यस अघि नै विश्वका विभिन्न देशहरूमा बालेन साह भन्दा कम उमेरका व्यक्तिहरू प्रधानमन्त्री भइसकेका छन्।
United Kingdom (UK) मा २४ वर्षका William Pitt सन् १७८३ मा प्रधानमन्त्री बनेका थिए। Britannica मा अभिलेख भए अनुसार २८ मे १७५९ मा जन्मिएका उनी र १९ डिसेम्बर १७८३ मा बेलायतका प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री बन्दा उनको उमेर २४ वर्ष २०५ दिन थियो, जसले उनलाई United Kingdom को मात्र नभई विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्री बनायो। उनको पहिलो कार्यकाल १४ मार्च १८०१ सम्म रहेको थियो।
Britannica मा अभिलिखित तथ्यको स्क्रीन सर्ट:

Britannica मा अभिलिखित तथ्यको लिंक:
https://www.britannica.com/biography/William-Pitt-the-Younger
त्यस्तै, कतारको अन्तरराष्ट्रिय समाचार संस्था ALJAZEERA का अनुसार France का Gabrial Attal पनि सन् २०२४ मा ३४ बर्ष को उमेरमा प्रधानमन्त्री भइसकेका छन्।
ALJAZEERA मा प्रकाशित विवरणको स्क्रीनसर्ट:

ALJAZEERA मा प्रकाशित विवरणको लिंक:
https://www.britannica.com/biography/William-Pitt-the-Younger
त्यस्तै, अन्तरराष्ट्रिय समाचार संस्था Times of India का अनुसार,
Finland का Sanna Marin ३४ वर्षको उमेरमा सन् २०१९मा प्रधानमन्त्री बनेकी थिइन।
उनी सन् १९८५ नोभेम्बर १४ मा जन्मिएकी थिइन्।
Times of India मा प्रकाशित विवरणको स्क्रीनसर्ट:

Times of India मा प्रकाशित विवरणको लिंक:
त्यस्तै गरि नेपालको इतिहासमा जंग बहादुर राणा २९ वर्षको उमेरमा प्रधानमन्त्री बनेको विभिन्न अभिलेखहरुमा पाइन्छ। वि.स. १८७४ असार ७ (18 June 1817) मा जन्मिएका उनी वि.स १९०३ ( सन् 1846) मा प्रधानमन्त्री बनेका थिए। Britannica मा अभिलिखित भएअनुसार उनी प्रधानमन्त्री बन्दा उनको उमेर २९ वर्ष भएको पाइन्छ।
Britannica मा प्रकाशित विवरणको स्क्रीनसर्ट:

Britannica मा प्रकाशित विवरणको लिंक:
https://www.britannica.com/biography/Jung-Bahadur
यद्दपि हाल नेपालमा प्रधानमन्त्रीको दाबेदार रहेका र सम्भवतः केही दिनमा प्रधानमन्त्री बन्दै गरेका बालेन्द्र साह ३५ वर्ष १० महिनाका भइसकेका छन्। विकिपीडियामा अभिलिखित विवरण अनुसार उनको जन्म २०४७ वैशाख १४ मा भएको पाइन्छ।
विकिपीडियामा उल्लेखित विवरणको स्क्रीनसर्ट:

विकिपीडियामा उल्लेखित विवरणको लिंक:
त्यस्तै निर्वाचन आयोगको वेभसाइटमा पनि बालेन्द्र साहको उमेर ३६ लेखिएको छ।
निर्वाचन आयोगमा उल्लेखित विवरणको स्क्रीनसर्ट:

निर्वाचन आयोगमा उल्लेखित विवरणको लिंक:
https://result.election.gov.np/MapElectionResult2082.aspx
त्यसैले बालेन साह प्रधानमन्त्री बनेको खण्डमा उनलाई विश्वकै मात्र होइन कि नेपालकै पनि कान्छा प्रधानमन्त्री भन्न मिल्दैन। माथी उल्लेखित बाहेक Georgia का Irakli Garibashvili पनि ३१ वर्षको उमेरमा प्रधानमन्त्री बनिसकेका थिए। यी लगाएत विश्वका विभिन्न देशका अन्य थुप्रै व्यक्तिहरू हालको बालेन साहको उमेरभन्दा कम उमेरमा नै प्रधानमन्त्री बनेको विभिन्न अभिलेखहरुमा भेटिने हुँदा “बालेन विश्वकै कान्छो प्रधानमन्त्री बनेर इतिहास रच्दै” भन्ने खालका सञ्चार माध्यममा प्रकाशित समाचारहरू भ्रामक रहेको पुष्टि हुन्छ।