Skip to content

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएलगत्तै मुलुकमा के नयाँ राष्ट्रपति बन्दै छन्?

गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुग्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाई सीट संख्या जित्ने निश्चित भएसँगै कतिपय मीडिया र सामाजिक सञ्जालमा ‘अब राष्ट्रपति को बन्दा ठीक हुन्छ’, ‘नयाँ राष्ट्रपति कसलाई बनाउने’ भन्ने खालका समाचार शैलीका पोस्टहरु आउन थाले पछि अब तत्काल नयाँ राष्ट्रपति बन्न मिल्ने / नमिल्ने कुराको वास्तविकता पत्ता लगाउन हामीले यो तथ्य जाँच गरेका छौ।

गत भाद्रको जेन्जी विद्रोह पछि मुलुकमा निम्तिएको राजनीतिक अवस्थाबीच करिब आधा कार्यकाल बाँकी छदै प्रतिनिधि सभाको विघठन भई भर्खर फागुन २१ पुनः प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेको छ र निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। यस अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा जसरी नयाँ प्रतिनिधि सभाबाट नयाँ प्रधानमन्त्री तथा नयाँ सरकार बन्छ, त्यसरी नै राष्ट्रपति /उपराष्ट्रपति पनि तत्कालै नयाँ बन्ने जस्तो आशयको समाचार तथा विभिन्न किसिमका पोस्टहरु केही दिन देखि आइरहेको देखिन्छ।
‘ScotNepal. Com’ नामको १५ लाख (1.5 Million) फ्लोअर्स भएको फेसबुक पेजले २४ फागुनमा राति ०९:०२ बजे “नयाँ बन्ने सरकारको राष्ट्रपति को बन्दा ठिक होला?” लेखेर पोस्ट गरेको छ।
ScotNepal. Com नामको फेसबुक पेजमा प्रकाशित पोस्टको स्क्रिनसर्ट:

ScotNepal. Com नामको फेसबुक पेजमा प्रकाशित पोस्टको लिंक:

https://www.facebook.com/share/p/1HGd44HWQS

त्यस्तै ‘A P Media’ नामको ६ लाख ५० हजार (650K) फ्लोअर्स भएको फेसबुक पेजले एआईको सहायताबाट बनाइएको बालेन साहजस्तो देखिने व्यक्तिले “म प्रधानमत्री भएपछि राष्ट्रपति कसलाई बनाउने मैले?” लेखिएको पोस्टर समातेको फोटो राखेर सोही क्याप्सन सहित २५ फागुनमा पोस्ट गरिएको छ।

A P Media नामको फेसबुक पेजमा राखिएको पोस्टको स्क्रिनसर्ट:

A P Media नामको फेसबुक पेजमा राखिएको पोस्टको लिंक:

https://www.facebook.com/share/1DiLn6oUYD

त्यस्तै ‘8848 News Nepal’ नामको ३ लाख ९७ हजार (397K) फ्लोअर्स भएको फेसबुक पेजमा ” बालेन शाह प्रधानमत्री बन्दा राष्ट्रपति को बन्ला?” क्याप्सन सहित राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति डी पी अर्यालको अभिव्यक्ति सहितको भिडियो राखिएको छ। जुन भिडियो जसरी बालेन शाह तत्काल प्रधानमन्त्री बन्दै छन्, त्यसै गरी तत्काल नयाँ राष्ट्रपति को बन्ने भन्ने खालको आशयबाट प्रस्तुत गरिएको देखिन्छ। हामीले यो तथ्य जाँच गर्ने बेलासम्म उक्त भिडियोमा १ लाख १२ हजार (112K) भ्युज, ७ हजार ८ सय (7.8 K) लाइक, १०२ कमेन्ट र ३४ शेयर भइसकेको छ।

8848 News Nepal नामको फेसबुक पेजबाट गरिएको पोस्टको स्क्रीनसर्ट:

8848 News Nepal नामको फेसबुक पेजबाट गरिएको पोस्टको लिंक:

https://www.facebook.com/share/v/1Bypc1p375

त्यस्तै ‘Balen shah Fan’ नामको २ लाख ७१ हजार (271K) फ्लोअर्स भएको फेसबुक पेजले २४ फागुनमा राति ०९:३९ बजे “राष्ट्रपति कसलाई बनाउँदा ठिक होला?” लेखेर पोस्ट गरेको छ।
Balen shah Fan नामको फेसबुक पेजको पोस्टको स्क्रिनसर्ट:

Balen shah Fan नामको फेसबुक पेजको पोस्टको लिंक:

https://www.facebook.com/share/1NEFFjVi2R

त्यस्तै ‘Stock Nepal’ नामको १ लाख ७६ हजार (176K) फ्लोअर्स भएको फेसबुक पेजबाट २४ फागुनमा राति ०९:०० बजे “अब को राष्ट्रपति को बनेको हेर्न चाहनुहुन्छ?” लेखिएको क्याप्सन सहित सोही कुरा लेखेर एकातिर हालको प्रधानमन्त्री सुशीला कार्की र अर्को तिर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम सहितको फोटो राखेर पोस्ट गरिएको छ। उक्त पोस्टमा हामीले यो तथ्य जाँच गर्ने बेलासम्म ९ हजार २ सय (9.2K) लाइक, ३ हजार १ सय (3.1 K) कमेन्ट र १०३ शेयर भइसकेको छ।

Stock Nepal नामको फेसबुक पेजबाट गरिएको पोस्टको स्क्रिनसर्ट:

Stock Nepal नामको फेसबुक पेजबाट गरिएको पोस्टको लिंक:

https://www.facebook.com/share/p/1Dp6Epr4ak

त्यसैगरी, ‘NEB Result & News’ नामको ९ लाख (900K) फ्लोअर्स भएकाे फेसबुक पेजबाट “Mahabir Pun ले PM Sushila Karki लाई अबको राष्ट्रपति बनाउनु पर्ने बताएका छन्।” लेखिएको क्याप्सन सहित एकातिर महावीर पुन र अर्कोतिर प्रधानमन्त्री सुशीला कार्कीको फोटो राखेर पोस्ट गरिएको उक्त पोस्टमा हामीले यो तथ्य जाँच गर्ने बेलासम्म २२ हजार (22K) लाइक, ६६६ कमेन्ट र ४४ शेयर भइसकेको छ।

NEB Result & News नामको फेसबुक पेजको पोस्टको स्क्रिनसर्ट:


NEB Result & News नामको फेसबुक पेजको पोस्टको लिंक:

https://www.facebook.com/share/p/1GG2vVRFWC

यी लगाएत अन्य केही व्यक्तिहरूले सामाजिक सञ्जालमा तत्कालै राष्ट्रपति नयाँ बनाउने, अब कस्लाई बनाउने भनेर आम मानिसको राय र प्रतिक्रिया लिने जस्तो आशयको विभिन्न सूचना प्रकाशित भएको पाइएको छ।


गत फागुन २१ मा भएको निर्वाचनबाट नागरिकको नयाँ म्यान्डेट सहित चुनिएको नयाँ प्रतिनिधि सभाले जसरी नयाँ सरकार बनाउँछ, त्यसैगरी अब राष्ट्रपति समेत नयाँ बनाउन सकिने र कसलाई राष्ट्रपति बनाउँदा ठिक हुन्छ भन्ने आशयबाट केही अनलाइन मीडिया र सामाजिक सञ्जालमा प्रकाशित दावीहरु भ्रामक रहेको हाम्रो तथ्य जाँचले देखाएको छ। नेपालको संविधान अनुसार प्रतिनिधी सभाको, राष्ट्रपति/ उपराष्ट्रपति लगायत थुप्रै महत्वपूर्ण पदको कार्यकाल ५ वर्षको हुने गरी निर्धारण गरिएको छ। तर गत भाद्र २३ र २४ गरेको युवा पुस्ताको आन्दोलनमा मुलुकमा विषम राजनीतिक परिस्थिति निम्तिएपछि करिब आधा कार्यकाल बाँकी छदै प्रतिनिधि सभाको विघठन भई नयाँ प्रतिनिधि सभाको निर्वाचनबाट फ्रेस म्यान्डेटसहित नयाँ सरकार बन्ने स्थितिमा पुगेको छ। तर राष्ट्रपतिको रूपमा भने रामचन्द्र पौडेल हालसम्म बहालवाला नै हुनुहुन्छ र उहाँको कार्यकाल अझै करिब दुई वर्ष बाँकी नै छ। संविधानको धारा ६३ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ५ वर्ष हुने व्यवस्था छ।

नेपालको संविधानको धारा ६३ मा उल्लेखित संवैधानिक व्यवस्था हेर्नुहोस्:

माथिको व्यवस्था बाहेक संविधानको धारा ६५ मा राष्ट्रपतिको पद रिक्त हुने अवस्था सम्बन्धी व्यवस्था गरेको छ।
जसमा राष्ट्रपतिले उपराष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,वा निजको विरुद्ध संविधानको धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा, वा निजको पदावधि समाप्त भएमा, अथवा निजको मृत्यु भएमा पद रिक्त हुन सक्छ।

संविधानको धारा ६५ मा उल्लेखित संवैधानिक व्यवस्था हेर्नुहोस्:

त्यसै गरी माथि उल्लेखित संविधानको धारा १०१ मा व्यवस्था भएअनुसार महाअभियोग सम्बन्धी कुरा उल्लेख छ। उक्त धाराको उपधारा १ मा “संविधान र कानुनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपति विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्नेछन् । त्यस्तो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा निज पदबाट मुक्त हुनेछ ।” भन्ने व्यवस्था गरिएको छ।

संविधानको धारा १०१ को उपधारा १ मा उल्लेखित संवैधानिक व्यवस्था हेर्नुहोस्:

यद्दपि माथि उल्लेखित व्यवस्था अनुसार हालसम्म राष्ट्रपतिले संविधान वा कानुनको कुनैपनि गम्भीर उल्लङ्घन गरेको अवस्था छैन। त्यो बाहेकको अवस्थामा राष्ट्रपतिलाई महाअभियोग लगाउन मिल्दैन र महाअभियोग बाहेक अन्य कुनै पनि तरिकाबाट राष्ट्रपतिलाई हटाउन मिल्ने कुनै संवैधानिक व्यवस्था छैन। त्यसैले यी सबै संवैधानिक व्यवस्था अनुसार हालका राष्ट्रपति रामचन्द्र पौडेलको कार्यकाल अझै झण्डै दुई वर्ष बाँकी रहेको हुँदा उनको कार्यकाल रहँदासम्म अर्को नयाँ राष्ट्रपति को बन्ने, कसलाई बनाउने, वा नयाँ प्रतिनिधि सभाले नयाँ सरकार बनाए जस्तै नयाँ राष्ट्रपति बनाइहाल्ने आशयप्रेरित सामाजिक सञ्जालमा प्रकाशित पोस्टहरु आम नागरिकलाई भ्रमित पार्ने खालको देखिएको हुदा त्यस्ता सामग्री औचित्यता पुष्टि हुँदैन।