Skip to content

प्रतिनिधि सभामा झण्डै दुई तिहाई सीट संख्या जितेको रास्वपाले के एक्लै संविधान संशोधन गर्न सक्छ?

भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा करिब दुई तिहाई सीट संख्या जितेर सबै भन्दा ठूलो पार्टी बन्दै गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले अब एक्लै संविधान संशोधन गर्न सक्छ भन्ने खालका दावी सहितका विभिन्न छलफल, बहस र सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन मीडियामा केहि दिनदेखि निरन्तर लेखिन थालेपछि त्यसको संवैधानिक व्यवस्था सहितको वास्तविकता पत्ता लगाउन हामीले यो तथ्य जाँच गरेका छौ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा करिब दुई तिहाई सीट संख्या जितेर सबै भन्दा ठूलो पार्टी बन्दै गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले अब एक्लै संविधान संशोधन गर्न सक्छ भन्ने खालका दावी सहितका विभिन्न छलफल, बहस र सामाजिक सञ्जालमा तथा विभिन्न अनलाइन मीडियामा केहि दिनदेखि निरन्तर देखिन थालेको छ।
चर्चित पत्रकार राजेन्द्र बानियाँले ‘Rajendra Baniya Official’ नामको १ लाख ८५ हजार (185K) फ्लोअर्स भएको आफ्नो फेसबुक पेजबाट २६ फागुनमा नयाँ बन्ने सरकारले संविधान संशोधन गर्न दुई तिहाई वा राष्ट्रिय सभाको अंक गणित कुर्न जरुरी नभएको भन्ने खालको दावी सहितको स्टाटस पोस्ट गरेका छन्। हामीले यो तथ्य जाँच गर्ने बेलासम्म उक्त पोस्टमा २८ हजार ५ सय (28.5K) लाइक, १ हजार ७ सय कमेन्ट र ६०१ शेयर भइसकेको छ।
Rajendra Baniya Official नामको फेसबुक पेजमा गरेको पोस्टको स्क्रिनसर्ट हेर्नुहोस:

Rajendra Baniya Official नामको फेसबुक पेजमा गरेको पोस्टको लिंक:

https://www.facebook.com/share/p/1GPDJbppTD

त्यस्तै पत्रकार राजेन्द्र बानियाँलाई क्रेडिट दिँदै ‘Taja Khabar’ नामको ३५ लाख (3.5 Million) फ्लोअर्स भएकाे फेसबुक पेजबाट २६ फागुनमा उनकै स्टाटस कपी गरेर उनको फोटो सहित पोष्ट गरिएको छ। हामीले यो तथ्य जाँच गर्ने बेलासम्म उक्त पोस्टमा ११ हजार ७ सय (11.7 K) लाइक, ८३८ कमेन्ट र ३२८ शेयर भइसकेको छ।

Taja khabar नामको फेसबुक पेजमा राखिएको पोस्टको स्क्रिनसर्ट हेर्नुहोस्:

Taja khabar नामको फेसबुक पेजमा राखिएको पोस्टको लिंक:

https://www.facebook.com/share/p/1GL8UorVSd

त्यस्तै, ‘Laxmi Prasad Ghimire’ नामको १८ हजार (18k) फ्लोअर्स भएको फेसबुक अकाउन्टबाट “याे सीराबाट जाने हाे भने यही वर्ष अर्थात २०८३ सालमा नै संविधान संसाेधन संभव छ। जसका लागि निम्न अनुसारका दलकाे सहमती चाहिँन्छ ।
१. रास्वपा, २. नेकपा, ३.श्रम संस्कृति पार्टी, ४. स्वतन्त्र सांसद महावीर पुन” लेखिएको क्याप्सन सहित एउटा पोस्टरमा क्याप्सनमा उल्लेखित दलहरुको संघीय संसदमा सीट संख्या जोडेर संविधान संशोधनको विधेयक संघीय संसदको दुवै सदनको संयुक्त सीट संख्याको आधारमा २२३ ले दुई तिहाई पुग्ने र संविधान संशोधन गर्न सकिने भन्ने आशयबाट पोस्ट गरिएको छ।
Laxmi Prasad Ghimire नामको फेसबुक पेजबाट गरिएको पोस्टको स्क्रिनसर्ट हेर्नुहोस्:

Laxmi Prasad Ghimire नामको फेसबुक पेजबाट गरिएको पोस्टको लिंक:

https://www.facebook.com/share/1G87wUgiCa/


माथी उल्लेखित बाहेक पनि अन्य व्यक्तिहरु र केही अनलाइन मीडियामा समेत त्यस्ता खालका एउटै सदनको दुई तिहाई वा दुवै सदनको सम्पूर्ण सदस्यको कुल जोडेर एकै ठाउँमा २ तिहाई वा राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लै संविधान संशोधन गर्न सकिने भन्ने खालका अभिव्यक्ति आइरहेको देखिन्छ।


गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको मत परिणाम आउने क्रम अब करिब अन्तिम चरणमा पुगेको छ। उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाईको हाराहारीमा सीट संख्या जित्ने निश्चित जस्तै भएको छ। निर्वाचनमा रास्वपाले हात पारेको चुनावी परिणामलाई लिएर केही सञ्चार माध्यममा तथा सामाजिक सञ्जालमा र अन्य व्यक्तिहरूले पनि संविधान संशोधनको विषयमा चासोका साथ बहस तथा छलफल चलाएको पाइन्छ। तर प्राय: व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा दुई तिहाई सीट संख्या भएमा अब एक्लै संविधान संशोधन गर्न सकिन्छ भन्ने गरी गरेका दावी नेपालको संविधानमा भएका संवैधानिक व्यवस्था अनुसार वास्तविक होइनन्।


संविधान संशोधन सम्बन्धी व्यवस्था नेपालको संविधानको भाग ३१ मा उल्लेख छ। संविधानको धारा २७४ मा संविधान संशोधन कस्ता/कस्ता विषयमा गर्न सकिने वा नसकिने तथा संविधान संशोधनको प्रक्रिया के हुने भन्ने उल्लेख छ। उपधारा १ मा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न नसकिने कुरा उल्लेख गरिएको छ। जसको मतलब माथि उल्लेखित विषयहरूमा संसदको सीट संख्या जति नै भएपनि संविधान संशोधन नै गर्न मिल्दैन।
संविधानको धारा २७४ को उपधारा १ मा उल्लेखित संवैधानिक व्यवस्था हेर्नुहोस्:

त्यस्तै धारा २७४ को उपधारा ८ मा संविधान संशोधनको लागि आवश्यक संसदको सीट संख्याको विषयमा व्यवस्था गरिएको छ। उक्त उपधारामा उल्लेख भएको व्यवस्था अनुसार प्रदेश सभाको सहमति आवस्यक पर्ने वा नपर्ने उपधारा १ बाहेकका जुनसुकै विषयमा संविधान संशोधन गर्दा संविधान संशोधनको विधेयक संघीय संसदका दुबै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित गर्नुपर्ने व्यवस्था छ।

संविधानको धारा २७४ को उपधारा ८ मा उल्लेखित संवैधानिक व्यवस्था हेर्नुहोस्:

यसको मतलब हाम्रो संविधानले दुई सदनात्मक व्यवस्थापिका हुने गरी प्रतिनिधि सभा (Lower House) र राष्ट्रिय सभा (Upper House) गरी दुईओटा सदनलाई संघीय संसद मानेको छ। त्यसैले संविधान संशोधनको लागि प्रतिनिधि सभाको मात्र दुई तिहाई बहुमतले सम्भव हुदैन। राष्ट्रिय सभाको समेत कम्तीमा दुई तिहाई बहुमत आवस्यक पर्दछ। हाल सम्म राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको सीट संख्या शून्य छ, अर्थात हाल सम्म राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति नै छैन। प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई सीट संख्या हुँदा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लै संविधान संशोधन गर्न सम्भव नै छैन। त्यसको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनको प्रस्ताव गर्दा सकेसम्म राष्ट्रिय सहमति जुटाउन सक्नु पर्दछ, नभए पनि कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, जसपा र राष्ट्रिय जनमोर्चा मध्ये कम्तिमा नेपाली कांग्रेस र एमाले सहित अन्य साना दल अथवा नेपाली कांग्रेस र नेकपा को साथ लिएर मात्र राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधन गर्न सक्छ। त्यो बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लै संविधान संशोधन गर्न सक्ने सम्भव हुँदैन।

त्यसै गरी कतिपयले सामाजिक सञ्जालमा संघीय संसदको दुई तिहाई बहुमत भनेको दुई ओटै सदनको जम्मा सदस्य संख्याको दुई तिहाई अर्थात् प्रतिनिधि सभाको २७५ र राष्ट्रिय सभाको ५९ गरी जम्मा ३३४ काे दुई तिहाई २२३ सीट भए पुग्ने भन्ने खालका तर्क पनि प्रस्तुत गरिएको पाइएको छ। तर संविधानले व्यवस्था गरेको संघीय संसदको दुवै सदनको दुई तिहाई भन्नुको अर्थ दुई ओटै सदनको छुट्टा छुटै गरी दुई तिहाई संख्या पुग्नु पर्दछ। अर्थात प्रतिनिधि सभामा पनि दुई तिहाई र राष्ट्रिय सभामा पनि दुई तिहाई हुनुपर्छ। किनकि एउटा सदनले संविधान संशोधनको विधेयक पारित गरेपछि मात्र अर्को सदनमा जाने र त्यहाँबाट पनि दुई तिहाईले पारित भएपछी संविधान संशोधन हुन्छ। यो अभ्यास लिम्पियाधुरा र लिपुलेक सहितको नक्साको विषयमा संविधानको दोश्रो संशोधन हुँदा २०७७ सालमा भइसकेको छ।
त्यतिबेला संविधान संशोधन विधेयक पहिला प्रतिनिधि सभाले पारित गरेर राष्ट्रिय सभामा गएको थियो।

२०७७ जेठ ३१ गतेको प्रतिनिधि सभाबाट संविधानको दोश्रो संशोधन विधेयक पारित भएको बैठकको पुरा भिडियो हेर्नुहोस्:

२०७७ असार ४ गतेको राष्ट्रिय सभाबाट संविधानको दोश्रो संशोधन विधेयक पारित भएको बैठकको पुरा भिडियो हेर्नुहोस्:

त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधी सभामा भएको दुई तिहाई सीट संख्याले पुराना दलहरुको सहमति र साथ बिना संविधान संशोधन गर्न सम्भव नै नभएकोले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधी सभामा दुई तिहाई बहुमत पाइसकेकोले अब संविधान यो/यो विषयमा संशोधन गर्नूपर्छ भन्ने खालका सामाजिक सञ्जाल र अनलाइन मीडियामा लेखिएका अभिव्यक्तिहरुको औचित्यता पुष्टि हुँदैन। हाम्रो तथ्य जाँचले त्यस्ता कुराहरू समाजमा केवल अन्यौलता ल्याउने र भ्रम सिर्जना गर्ने खालका रहेको पुष्टि गर्दछ।