Skip to content

रास्वपाबाट समानुपातिकतर्फ सांसद बन्न लागेकी भूमिका श्रेष्ठ के नेपालको इतिहासमा लैङ्गिक तथा अल्पसंख्यक समुदायको पहिलो सांसद हुन्?

गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै अब दलहरुले आफूहरुले प्राप्त गरेको समानुपातिक मतको आधारमा उनीहरूले पाउने सीट संख्याको लागि समानुपातिक बन्द सूचीमा भएका व्यक्तिहरूबाट समावेशी सिद्धान्त अनुसार प्राथमिकताक्रमको आधारमा समानुपातिक सांसद टुंग्याउने क्रम सुरु भए सँगै nayapusta.com र अन्य केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट भूमिका श्रेष्ठ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट नेपालको संसदीय इतिहासमै पहिलो सांसद बन्न लागेको भन्दै विभिन्न पोस्टहरु आइरहेको देखिन्छ। त्यसको वास्तविकता पत्ता लगाउन हामीले यो तथ्य जाँच गरेका छौ।

भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै दलहरुले प्राप्त गरेको समानुपातिक मतको आधारमा सामानुपातिक तर्फको कुल ११० सीट संख्यामध्ये निर्वाचन आयोगले दलहरुलाई निर्धारण गरेको सीट संख्या अनुसार सामानुपातिक तर्फबाट सांसद बन्ने संभावित व्यक्तिहरूको विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा विभिन्न चर्चा भइरहेको छ। त्यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्द सूचीमा नाम भएकी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायकी भूमिका श्रेष्ठ त्यस समुदायबाट नेपालको इतिहासमै पहिलो सांसद बन्न लागेको दाबी सहितका पोस्टहरु आइरहेको देखिन्छ।
‘nayapusta.com’ नामको मिडियाले ८ लाख ७८ हजार (878K) फ्लोअर्स भएको आफ्नो फेसबुक पेजबाट २९ फागुनमा “भूमिका श्रेष्ठ नेपाली संसद इतिहासकै पहिलो तेस्रोलिंगी समुदायको सांसद बन्ने भएकी छन्। उनी रास्वपाको समानुपातिकतर्फबाट पक्का बन्ने देखिएको छ ll” लेखिएको क्याप्सन सहित भूमिका श्रेष्ठको तस्बिरमा “भूमिका श्रेष्ठ रास्वपाको सामानुपातिक सांसद पक्का” लेखेर पोस्ट गरिएको छ। हामीले यो तथ्य जाँच गर्ने बेलासम्म उक्त पोस्टमा १ हजार ६ सय (1.6K) लाइक, १०५ कमेन्टहरु र १४ शेयर भइसकेको छ।
‘nayapusta.com’ नामको मिडियाको फेसबुक पेजबाट गरिएको पोस्टको स्क्रिनसर्ट हेर्नुहोस:

‘nayapusta.com’ नामको मिडियाको फेसबुक पेजबाट गरिएको पोस्टको लिंक:

https://www.facebook.com/share/1CChib3cks

त्यस्तै, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको रुबिना तामाङ्ले आफ्नो ‘Rubina Blon’ नामको २९ हजार (29K) फ्लोअर्स भएको फेसबुक पेजबाट १ चैत,२०८२ मा “लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिलो बलियो प्रतिनिधित्व Bhumika Shrestha। राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) द्वारा समावेशी लोकतन्त्रको वास्तविक अभ्यास। नीति निर्माण तहमा अब हामी सबैको आवाज सुनिने विश्वास। तपाईँको कार्यकाल सफल रहोस् र ओझेलमा परेका मुद्दाहरूले न्याय पाउन। जय देश, जय भविष्य!” लेखिएको क्याप्सन सहित भूमिका श्रेष्ठको तस्बिर राखेर पोस्ट गरेकि छन्।

‘Rubina Blon’ नामको फेसबुक पेजबाट रुबिना तामाङ्ले गरेको पोस्टको स्क्रिनसर्ट हेर्नुहोस:

‘Rubina Blon’ नामको फेसबुक पेजबाट रुबिना तामाङ्ले गरेको पोस्टको लिंक:

https://www.facebook.com/100046342382628/posts/1491705035717562/?app=fbl

माथी उल्लेखित बाहेक अन्य केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि भूमिका श्रेष्ठ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट नेपालको संसदीय इतिहासमा उनी पहिलो सांसद बन्न लागेको भन्ने लेखिएका खालका थुप्रै पोस्टहरु आइरहेको देखिन्छ।


गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मतको आधारमा निर्वाचन आयोगले दलहरुलाई सीट संख्या समेत निर्धारण गरिसकेको छ। यो सँगै थ्रेसहोल्ड कटाएका दलहरुले आफ्ना समानुपातिक सांसद टुंग्याउने क्रममा छन्। यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्द सूचीमा परेकी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी भूमिका श्रेष्ठ सांसद बन्ने लगभग निश्चित भएसँगै उनी नेपालको संसदीय इतिहासमा तेस्रो लिङ्गी समुदायबाट पहिलो सांसद बन्न लागेको भन्ने दावी सहित केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित पोस्टहरु वास्तविक नभएको हाम्रो तथ्यजाँचले देखाएको छ।

भूमिका श्रेष्ठ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्छिन् तर उनले आफूलाई भने महिला भनेर चिनाउँछिन्। उनी पारालैङ्गिक (Transgender) हुन। यस निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई समानुपातिक बन्द सूचीमा समावेश गरेको थियो। रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा भूमिका श्रेष्ठको नाम क्रम संख्या २२ मा छ भने उनी आदिवासी जनजातिको महिला तर्फ ९ नम्बरमा छन्।

निर्वाचन आयोगले प्रकाशन गरेको समानुपातिक बन्द सूचीको स्क्रिनसर्ट हेर्नुहोस्:


निर्वाचन आयोगले प्रकाशन गरेको समानुपातिक बन्द सूची हेर्नुहोस्:

https://election.gov.np/admin/public//storage/HOR%202082/PR/PR_FINAL.pdf

भुमिका श्रेष्ठले आफ्ना नागरिकता जस्ता आधिकारिक डकुमेन्टहरुमा महिला भनेर आफूलाई चिनाएपनि यो चुनावी अभियानमा भने उनले आफूलाई तेस्रो लिङ्गी समुदायको भनेर चिनाएकी थिइन। अब सांसद बन्दै गरेकी उनी तेस्रो लिङ्गी समुदायबाट नेपालको संसदीय इतिहासमा पहिलो सांसद भने होइनन्।


यसअघि २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा तेस्रो लिङ्गी समुदायबाट सुनिल बाबु पन्त सांसद भइसकेका छन्। सुनिल बाबु पन्त आफू पनि तेस्रो लिङ्गी समुदाय अन्तर्गत भएको र त्यो समुदायको व्यक्तिहरूको अधिकारका लागि काम गर्ने भन्दै उनले सन् २००१ मा आफ्नो नेतृत्वमा ‘Blue Diamond Society’ नामको संस्थाको समेत स्थापना गरेका थिए। उनी नेकपा (सयुक्त)को तर्फबाट पहिलो संविधान सभामा समानुपातिकतर्फबाट सांसद भएका थिए। समानुपातिकतर्फ ५ सीट मात्र जितेको नेकपा (सयुक्त)ले उनलाई समानुपातिकबाट सांसद बनाएको थियो। २०७८ सालमा संघीय संसद सचिवालयले प्रकाशित गरेको जम्मा २१९ पृष्ठको संसदीय विवरण पुस्तिका (संविधान सभा – व्यवस्थापिका संसद:२०६५-२०६९) को पृष्ठ ९५ मा सुनिल बाबु पन्त सांसद भएको विवरण छ।
संसदीय विवरण पुस्तिकामा सुनिल बाबु पन्त नेकपा (संयुक्त) को तर्फबाट सांसद भएको विवरणको स्क्रिनसर्ट हेर्नुहोस:


संसदीय विवरण पुस्तिकामा सुनिल बाबु पन्त नेकपा (संयुक्त) को तर्फबाट सांसद भएको पूरा विवरण तलको लिंकमा हेर्नुहोस:

https://na.parliament.gov.np/uploads/attachments/ydgitel3atlerfln.pdf

त्यस्तै, विकिपीडियामा अभिलिखित विवरणमा पनि सुनिल बाबु पन्त पहिलो संविधान सभा सदस्य भएको उल्लेख छ।
विकिपीडियामा अभिलिखित विवरणको स्क्रिनसर्ट हेर्नुहोस:

विकिपीडियामा अभिलिखित विवरणको विस्तृत जानकारी तलको लिंकमा हेर्नुहोस्।

https://en.wikipedia.org/wiki/Sunil_Babu_Pant#:~:text=Sunil%20Babu%20Pant%20(Nepali%3A%20%E0%A4%B8%E0%A5%81%E0%A4%A8%E0%A5%80%E0%A4%B2%E0%A4%AC%E0%A4%BE%E0%A4%AC%E0%A5%81,Assembly%20between%202008%20and%202013.

त्यसै गरी, सुनिल बाबु पन्त आफैले आफ्नो आधिकारिक फेसबुक अकाउण्टको वायोमा Member of Parliament, Nepal (2008-12) लेखेका छन्।

सुनिल बाबु पन्तको फेसबुक अकाउन्टको वायो हेर्नुहोस्:

त्यस्तै, सुनिल बाबु पन्तले ३० फागुनमा आफ्नो फेसबुकमा सांसद बन्दै गरेकी उनै भूमिका श्रेष्ठलाई शूभकामना दिँदै लामो स्टाटस लेखेका छन्, जसमा उनले आफू पहिलो संविधान सभामा सांसद भइसकेको कुरा उल्लेख गरेका छन्।

सुनिल बाबु पन्तको फेसबुक पोस्टको स्क्रिनसर्ट हेर्नुहोस्:

सुनिल बाबु पन्तको फेसबुक पोस्टको लिंक हेर्नुहोस्:

https://www.facebook.com/100088990872402/posts/952938231015864/?app=fbl

माथी उल्लेखित सबै तथ्यहरु केलाउँदा रास्वपाको समानुपातिक सूचीबाट सांसद बन्दै गरेकी तेस्रो लिङ्गी समुदायकी भूमिका श्रेष्ठ नेपालको संसदीय इतिहासमा पहिलो सांसद होइनन् तर पारालैङ्गिक (Transgender) समूहबाट भने उनी पहिलो हुन। । उनीभन्दा अगाडि नै पहिलो संविधान सभामा तेस्रो लिङ्गी समुदायबाट सुनील बाबु पन्त सांसद भइसकेकोले समग्र तेस्रो लिङ्गी अर्थात लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट नेपालको संसदीय इतिहासमा भूमिका श्रेष्ठ पहिलो सांसद भने हुने छैनन्।