Skip to content

प्रधानमन्त्री भएपछि बालेन एक्लैले प्रधानन्यायाधीश छान्न सक्छन्?

गत फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाईको हाराहारीमा सीट संख्या जितेसँगै उनी प्रधानमन्त्री बन्ने करिब निश्चित भएका छन्। बहालवाला प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्ष उमेर हदका कारण आउँदो चैत १८ देखि अवकाशमा जान लागेपछि नयाँ प्रधानन्यायाधीश बालेनको रोजाइको हुने र उनैले छान्ने भन्दै ‘DNA Khabar’ ले बनाएको समाचार शैलीको भिडियोको वास्तविकता पत्ता लगाउन यो तथ्य जाँच गरिएको छ।

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै मुलुकले करिब दुई तिहाई बहुमत सहितको एकल सरकार केही दिनमा पाउँदै छ। कार्यपालिकाको नेतृत्व गर्ने नयाँ प्रधानमन्त्री सँगै न्यायपालिकाको नेतृत्व गर्ने प्रधानन्यायाधीश समेत फेरिँदै छन्।
बहालवाला प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ बर्षे उमेरहदका कारण आउँदो चैत १८ गते देखि अवकाशमा जान लागेपछि अर्को प्रधानन्यायाधीश समेत को हुने भन्ने विषयमा विभिन्न अड्कलबाजी सँगै चर्चा हुन थालेको छ।


‘DNA Khabar’ नामको अनलाइन मीडियाले ३ लाख ५ हजार (305k) फ्लोअर्स भएको आफ्नो फेसबुक पेजबाट “बालेनले आफू प्रधानमन्त्री भएसँगै छान्ने भए नयाँ प्रधानन्यायाधीश, को-को छन् लाइनमा? को पर्ला बालेनको रोजाइमा?” लेखिएको क्याप्सन सहित २६ फागुनमा समाचार शैलीको भिडियो सामग्रीमा माथि “बालेनले छान्ने भए नयाँ प्रधानन्यायाधीश, को को छन् लाइनमा? बालेनको रोजाइमा को ?” लेखेर पोस्ट गरिएको छ। जुन भिडियोको र पोस्टको शीर्षक नै बालेन प्रधानमन्त्री भएपछि उनको रोजाइको मान्छेलाई उनले प्रधानन्यायाधीश छनोट गर्ने भन्ने आशयबाट समाचार शैलीमा भिडियो सामग्री निर्माण गरिएको छ। हामीले यो तथ्य जाँच गर्ने बेलासम्म उक्त पोस्टमा ७ लाख ३५ हजार (735K) भ्युज, ४० हजार (40K) लाइक, २८४ कमेन्ट र ८८४ शेयर भइसकेको छ।

‘DNA Khabar’ नामको अनलाइन मीडियाले आफ्नो फेसबुक पेजमा प्रकाशित गरेको पोस्टको स्क्रिनसर्ट:

DNA Khabar’ नामको अनलाइन मीडियाले आफ्नो फेसबुक पेजमा प्रकाशित गरेको पोस्टको लिंक:

https://www.facebook.com/share/v/18pZ5DWaEz


प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भैसकेको र त्यसको मत परिणाम आउने क्रम पनि अन्तिम चरणमा पुगेकोले अब केही दिनपछि यो निर्वाचनमा झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको रास्वपाले बालेन साह नेतृत्वको एकल सरकार बनाउँदै छ। नयाँ सरकार आए सँगै चैत १८ पछि रिक्त हुन लागेको प्रधानन्यायाधीशको पदपूर्ति पनि हुनेछ। तर ‘DNA Media’ नामको अनलाइन मीडियाले बालेनले आफ्नो रोजाइको व्यक्ति प्रधानन्यायाधीश छनोट गर्नेछन् भन्ने खालको भिडियो सामग्री फेसबुक पेजमा पोस्ट गर्दै राखेको शीर्षकले आम नागरिकमा भ्रम सिर्जना गर्ने खालको भएको हाम्रो तथ्य जाँचले देखाएको छ।
उक्त माथिको भिडियो सामग्रीमा भनिएको जस्तो प्रधानन्यायाधीश कसैको रोजाइमा पर्दैमा छनोट गरिहाल्न मिल्ने हुँदैन। प्रधानन्यायाधीशको नियुक्त विभिन्न कानुनी र संवैधानिक प्रक्रिया अनुसार हुन्छ। नेपालको संविधानको धारा १२९ मा नेपालको प्रधानन्यायाधीशको नियुक्ति र योग्यताको व्यवस्था गरेको छ। जसको उपधारा २ मा प्रधानन्यायाधीशको नियुक्ति संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था उल्लेखित छ।
संविधानको धारा १२९ को उपधारा २ मा उल्लेखित संवैधानिक व्यवस्था हेर्नुहोस्:

त्यस्तै संवैधानिक परिषद सम्बन्धी व्यवस्था नेपालको संविधानले धारा २८४ मा गरेको छ। त्यसको उपधारा १ मा संवैधानिक परिषदको अध्यक्षता प्रधानमन्त्रीले गर्ने र अन्य ५ जना सदस्य रहने व्यवस्था छ। जसमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था छ।
सोही धाराको उपधारा २ मा प्रधानन्यायाधीशको पद रिक्त रहेको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा नेपाल सरकारको कानुन तथा न्याय मन्त्री सदस्यको रूपमा रहने व्यवस्था छ।
संविधानको धारा २८४ को उपधारा १ र २ मा उल्लेखित संवैधानिक व्यवस्था हेर्नुहोस्:

प्रधानन्यायाधीशको सिफारिस गर्ने संवैधानिक परिषदमा विपक्षी दलको नेता, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष समेत सदस्य हुने संवैधानिक व्यवस्थाले बालेन प्रधानमन्त्री भएपनि एक्लै आफ्नो रोजाइको व्यक्ति प्रधानन्यायाधीश छनोट गर्न सहज भने हुन सक्दैन। अन्य दलहरुको साथ बिना एक्लै प्रधानन्यायाधीश सिफारिस गर्न सकिदैन। किनकि हाल राष्ट्रिय सभाको सदस्य नेपाली कम्युनिष्ट पार्टीको पृष्ठभूमिको व्यक्ति छन् भने सभामुख र उपसभामुख मध्ये एकजना पनि राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ।

यसरी हेर्दा ६ सदस्यीय संवैधानिक परिषदमा ३ जना राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकको हुने हुँदा माथिको भिडियोमा भनेजस्तो एक्लै आफ्नो रोजाइको व्यक्ति प्रधानन्यायाधीश छनोट गर्न सम्भव छैन। त्यतिमात्र नभएर संवैधानिक परिषदको सिफारिस पछि संसदीय सुनुवाई समितिले समेत सिफारिस भएका व्यतिको ऊपर आएका उजुरीमा छानबिन गर्नुपर्छ। उक्त समिति पनि सबै दलको प्रतिनिधित्व हुने गरी गठन गरिएको हुन्छ। त्यसैले DNA Media ले भिडियो सामग्री पोस्ट गर्दै दावी गरेको जस्तो बालेनले आफ्नो रोजाइको व्यक्ति प्रधानन्यायाधीश छनोट गर्ने कुरा भ्रामक हो।